खोटाङ, १६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङको अध्यक्षमा डार्विन चाम्लिङ चयन भएका छन् । दिक्तेलस्थित शुभम् फाउण्डेशनमा गएराति सम्पन्न अखिल (क्रान्तिकारी) खोटाङको १९ औँ जिल्ला सम्मेलनबाट चाम्लिङ ३३ सदस्यीय जिल्ला कार्यसमितिको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।
समितिको उपाध्यक्षमा लक्ष्मी राई, सचिवमा उमेश भट्टराई, सहसचिवमा ललिजन राई र कोषाध्यक्षमा एलिसा राई चयन भएका छन् । नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
अखिल (क्रान्तिकारी) खोटाङको १९ औँ जिल्ला सम्मेलनको बन्दसत्रले सङ्गठनको आर्थिक तथा साङ्गठानिक प्रतिवेदन र भावी रणनीतिसमेत पारित गरेको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज (आइतबार) बसेर अखिल (क्रान्तिकारी) को १९ औँ जिल्ला सम्मेलनले पारित गरेका भावी कार्ययोजनाहरु सार्वजनिक गर्ने तयारी गरिएको अध्यक्ष चाम्लिङले जानकारी दिए ।
‘समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो आन्दोलन, बिकृति, बिसङ्गति र बेथितिकाविरुद्ध १९ औँ जिल्ला सम्मेलन’ भन्ने नाराका साथ उद्घाटन भएको सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, जिल्ला इन्चार्ज ध्रुव बुढाथोकी ‘धिरेन’, प्रदेश उपाध्यक्ष देवान किराती ‘पृथ्वी’, प्रदेश सदस्य एवम् विद्यार्थी फ्र्याक्शन इन्चार्ज गोपालचन्द्र राई, सदस्य सुरशेकुमार राई, जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’, अखिल ९क्रान्तिकारी०का केन्द्रीय सचिव रविन खम्बु, सदस्य एलबी मगर, जिल्लास्थित सबै विद्यार्थी सङ्गठनका नेताहरु लगायतको उपस्थिति थियो ।