खोटाङ । खोटाङको दिक्तेलमा जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको दोश्रो संस्करण उद्घाटन हुँदैछ । ‘स्थानीय खेलाडीको विकास र पहिचान, खोटाङ फुटवल एकेडेमीको अभियान’ भन्ने नाराका साथ खोटाङ फुटबल एकेडेमी (केएफए) को आयोजनामा जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीता सुरु गर्न लागिएको हो ।
दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन हुने प्रतियोगीता आज बुधबार अखिल नेपाल फुटवल संघ ‘एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले उद्घाटन गर्ने कार्यक्रम छ । यस्तै, प्रतियोगीता उद्घाटनका क्रममा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिं, फुटबलर हरि खड्का लगायतको उपस्थिति रहने खोटाङ फुटवल एकेडेमीका अध्यक्ष नुरकाजी सैजुले बताए ।
प्रतियोगीताको उद्घाटन खेल आयोजक खोटाङ फुटवल एकेडेमी र योङ व्वाइज यूनाइटेड फुटबल क्लव दिक्तेलबिच हुने आयोजकले जनाएको छ । चन्दा उठाएर आयोजना गरिएको प्रतियोगीतामा १३ टिमबिचमा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ८८ हजार ८८८, दोश्रो स्थान प्राप्त गर्ने टिमले ४४ हजार ४४४ र दुई वटा सेमिफाइनलिस्ट टिमले प्रतिटिम २२ हजार २२२ का साथमा ट्रफि, मेडल र प्रमाण–पत्र पाउने खोटाङ फुटवल एकेडेमीका अध्यक्ष सैजुले बताए ।
यस्तै, उत्कृष्ट गोल रक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाण–पत्र तथा म्यानअफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
अन्तर क्लब पुरुष फुटबल प्रतियोगीतामा जिल्ला खेलकुद विकास समितिमा दर्ता भएको, दर्ता गरेको प्रमाण–पत्र भएको तथा वार्षिकरुपमा नवीकरण गरेको टिमलाई मात्र सहभागी गराइएको एकेडेमीका अध्यक्ष सैजुले बताए । प्रतियोगीता उद्घाटनकै क्रममा पत्रकार र केएफए भेट्रानबिचमा मैत्रीपूर्ण खेल हुने छ ।
‘खेलकुदको अभियान खोटाङको पहिचान’ भन्ने नारा सहित २०७३ सालमा स्थापना भएको एकेडेमीले २०७४ सालमा जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको पहिलो संस्करण आयोजना गरेको थियो ।
जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीता उद्घाटनको अवशरमा खोटाङ फुटबल एकेडेमीको आफ्नै गीत सार्वजनिक गर्ने तयारी गरिएको छ । सोही अवशरमा फुटसल सेन्टरलाई निःशुल्क जग्गा दानको कार्यक्रम पनि तय गरिएको अध्यक्ष सैंजूले बताए ।