राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि दिरुमनपाले उचाल्यो 

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि दिरुमनपाले उचाल्यो 

रोदिक खबर

६, बैशाख २०७८
  • 3.8K
    SHARES
  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि दिरुमनपाले उचाल्यो 

    खोटाङ । खोटाङमा आयोजित १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको प्रथम उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उचालेको छ । सोमबार सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा २२ स्वर्ण, ११ रजत र ९ कास्य पदक सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रथम स्थान ओगटेको हो ।

    दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजित प्रतियोगीतामा ९ स्वर्ण, ९ रजत र ६ कास्य पदक जित्दै हलेसी तुवाचुङ नगरपालिकाले दोश्रो स्थान प्राप्त गरेको छ । यस्तै, ४ स्वर्ण, ४ रजत र १ कास्य पदक सहित ऐसेलुखर्क गाउँपालिकाले तेश्रो स्थान प्राप्त गरेको आयोजक जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले बताए । 

    प्रमुख केसीका अनुसार रावाँवेशी गाउँपालिकाले २ स्वर्ण, २ रजत र ४ कास्य पदक प्राप्त गरेको छ भने दिप्रुङ चुईचुम्मा गाउँपालिकाले १ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गरेको  छ ।

    प्रतियोगीताका विजेता टिमलाई प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री, सरस्वती नमुना मावि दिक्तेलका प्रधानाध्यापक ज्ञानबहादुर राई लगायतले शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरेका थिए ।

    जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताबाटै प्रदेश स्तरिय प्रतियोगीतामा सहभागी हुने खेलाडी छनौट गरिएको छ । केही समयपछि हुने प्रदेशस्तरिय प्रतियोगीताका लागि जिल्लाबाट ४ जना अफिसियल सहित ८८ जना सहभागी हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगीता बैशाख ४ गते उद्घाटन गरिएको थियो । 

    पाँच स्थानीय तहको सहभागीता शून्य 

    खोटाङका १० स्थानीय तहमध्ये राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र रावाबेँसी गाउँपालिकाका खेलाडीको मात्र सहभागीता रहेको थियो ।

    प्रतियोगीतामा केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका र साकेला गाउँपालिकाको सहभागीता नभएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

    यस्तै, साकेला गाउँपालिकाले पनि पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड गरे तर जिल्ला छनौट प्रतियोगीतामा खेलाडी सहभागी गराउन नसकेको बताइएको छ । साकेलामा आयोजित राष्ट्रपति रनिङ शिल्डमा दौड प्रतियोगीताका सहभागीमाथि हातपात भएपछि खेल विवादित बनेको थियो । 

    प्रकाशित मिति :बैशाख ६, २०७८ सोमवार - १८:०९:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको