खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा चौथो अध्यक्ष कप अन्तर वडा स्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगीताको तयारी गरिएको छ ।
खोटेहाङ गाउँपालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आगामी बैशाख १२ गतेदेखि १५ गतेसम्म चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगीता सञ्चालन गर्ने तयारी गरिएको हो ।
बैशाख १५ गते पर्ने गाउँपालिका स्थापनाको अवसरमा आयोजना हुने पुरुष तथा महिला भलिबल प्रतियोगीतामा प्रथम, दोश्रो तथा दुई वटा सेमीफाइनलिष्ट टिमलाई क्रमशः १ लाख ११ हजार १११, ६६ हजार ६६६ र ३३ हजार ३३३ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छन् ।
यस्तै, अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट लिफ्टर र उत्कृष्ट स्पाइकरले जनही ५/५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।
अध्यक्ष कप अन्तर वडास्तरिय खुला पुरुष तथा महिला भलिबल प्रतियोगीतामा सहभागी हुन इच्छुक टिमले सम्वन्धित वडाको सिफारिस तथा सम्वन्धित वडाको स्थायी ठेगाना खुल्ने फोटो सहितको परिचयपत्र पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।