नेपालले ताइपेईलाई २-० गोल अन्तरले हरायो

नेपालले ताइपेईलाई २-० गोल अन्तरले हरायो

रोदिक खबर

२१, जेठ २०७८
  • 5.2K
    SHARES
  • नेपालले ताइपेईलाई २-० गोल अन्तरले हरायो

    काठमाडाैं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोटअन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेईमाथि सहज जित दर्ता गरेको छ।  भर्खरै सकिएको खेलमा नेपालले ताइपेईलाई २-० गोल अन्तरले हराएको हो।

    नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । खेलको तेश्रो मिनेटमा अञ्जनले पेनाल्टी गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

    कुवेतको जावेद अल महम्म रंगशालमा भएको खेलमा खेल अवधिभर नेपालले ताइपेईलाई दबाबमा राखेको थियो। खेलको तेश्रो मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो। जसलाई अञ्जनले सहजै जाली चुमाउँदै नेपाललाई सुरुवाती अग्रता दिलाए। दोस्रो गोल सब्सटिच्युट खेलाडी नवयुग श्रेष्ठले गरे।

    उनले खेलको ८० औं मिनेटमा गोल गर्दै नेपालको जित सुनिश्चित गरे। अन्जन विष्टको पासमा सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमा नै गोलमा परिणत गर्दै नेपाललाई २–० ले अघि बढाएका थिए।

    यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ। नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित छ। नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक छ। जितविहीन ताइपेईको ६ खेलमा कुनै अंक छैन।

    विश्वकप छनोटको यो दोस्रो राउण्डमा पनि नेपाल ताइपेईविरुद्ध हाबी भयो। नेपालले यसअघि पहिलो राउण्डमा पनि ताइपेईलाई २-० गोल अन्तरले हराएको थियो। उक्त दुवै गोल अन्जन विष्टले गरेका थिए। आज पनि उनले नै पहिलो गोल गर्न सफल भए।

    प्रकाशित मिति :जेठ २१, २०७८ शुक्रवार - ००:०३:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको