कार्यक्रमलाई सम्बोधन गर्दै केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई।
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले स्थानीय खकलुङ युनाइटेड क्लब बासपानी खोक्मालाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। क्लबले शुक्रबारदेखि आयोजना गरेको जिल्ला स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगितामा विशेष अतिथिको रुपमा बोल्दै गाउँपालिका अध्यक्ष समिर राईले ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।
क्लवले खेलमैदानका लागि जग्गा जुटाएमा खेलमैदान निर्माण गर्नलाई यथोचित आर्थिक सहयोग गर्ने आश्वसन पनि गाउँपालिका अध्यक्ष राईले दिएका छन्। खेलाडीहरुको प्रोत्साहनका लागि आर्थिक सहयोग गर्ने घोषणा गरिएको गाउँपालिका अध्यक्ष राईले बताए। प्रतियोगितामा १९ टिम सहभागी खकलुङ युनाइटेड क्लबले खोक्मा खेलमैदान बासपानीमा आयोजना गरेको जिल्ला स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगितामा १९ टिमले सहभागिता जनाएका छन्।
शुक्रबारदेखि भएको प्रतियोगितामा आयोजक खकलुङ युनाइटेड क्लब बासपानी ए ले बासपानी फुटबल क्लब र खकलुङ युनाइटेड क्लब बासपानी बि ले चोखाने फुटबल क्लबलाई जितेको छ। शनिबार भएको प्रतियोगितामा युनिटी सिमपानी फुटबल क्लबले एनएक्ससी क्लबलाई, दशकते फुटबल क्लबले सिमपानी फुटबल क्लबलाई, सोल्मा फुटबल क्लबले पाथेका फुटबल क्लबलाई, सोल्मा हट मिलन राई फुटबल क्लबले खकलुङ युनाइटेड क्लब बि लाई र लुङसिका फुटबल क्लबले खकलुङ युनाइटेड क्लब सि लाई जितेको छ। भोली क्वाटरफाइनलका खेल हुने खकलुङ युनाइटेड क्लब बासपानीका अध्यक्ष प्रताप राईले बताए।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार, दोश्रो २० हजार तथा सेमिफाइनलिस्ट टिमले १०/१० हजारका साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिनफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट गोलकर्तालाई मेडल र प्रमाण् पत्र प्रदान गरिनेछ।
प्रतियोगिताको उद्घाटन नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य वीरवलकाजी राईले उद्घाटन गरेका थिए। कार्यक्रममा विशेष अतिथि केपिलासगढी गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष गुरुराज राई, नेकपा एसका प्रदेश कमिटि सदस्य तेज राई, शिवकुमार राई, माईतीराज राई लगायतको उपस्थिति थियो।